विभिन्न आपराधिक क्रियाकलापमा संलग्न ८ जना पक्राउ
काठमाडाैं | मंसिर ६, २०८१
फाइल तस्बिर
काठमाडौं: विभिन्न आपराधिक क्रियाकलापमा संलग्न आठ जना काठमाडौँबाट पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डरत्रास देखाएर रकम असुल गर्ने, अनलाइन र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा बैङ्किङ कसुरमा फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
प्रहरीले ‘ह्वाट्स एप’मार्फत डरत्रास देखाइ रकम असुली गरेको अभियोगमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाललाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यकाभित्र विभिन्न व्यक्तिलाई ‘अन्डर कभर एजेन्ट’ भनी ज्यान मार्ने धम्की दिई रु ५० हजारदेखि रु २ लाखसम्म रकम माग गरेको आरोपमा प्रहरीले निजलाई शङ्खमुलबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका–३२ ठेगाना भएका ३७ वर्षीय राजेश श्रेष्ठ हाँडीगाउँबाट पक्राउ परेका छन् ।
निजले सामाजिक सञ्जालमा सम्पर्क गरी विभिन्न बहानामा रु ७ लाख ७५ हजार विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यसैगरी आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न मुलुकमा वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन कालिका नगरपालिका–७ ठेगाना भएकी २१ वर्षीया रचना परियार र डोटी बडीकेदार गाउँपालिका–२ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने २७ वर्षीय प्रकाशबहादुर रोक्का मगर पक्राउ परेका छन् ।
रचनाले हङ्गेरी पठाइदिन्छु भन्दै दुई जनाबाट रु १८ लाख र प्रकाशले माल्टा पठाइदिन्छु भन्दै एकजनाबाट रु १ लाख लिई सम्पर्कबिहीन भएका थिए । रचनालाई काठमाडौँ महानगरपालिका–१२ बाट र प्रकाशलाई टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो ।
नक्कली फेसबुक आइडी बनाएर वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगीमा संलग्न रहेको अभियोगमा पर्साको वीरगन्ज महानगरपालिका–३१ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका–७ बस्ने २१ वर्षीय सुरज पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
निजले फेसबुकबाट दुबईमा वैदेशिक रोजगारका लागि सुवर्ण अवसर छ, भिजिट भिसामा दुबईमा आएर काम गर्न मिल्छ भनी विज्ञापन राखेर पीडितसँग रु २ लाख १५ हजार ठगेको प्रहरीले जनाएको छ । साथै बैंकिङ कसुर मुद्दाका फरार तीनजना प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीले बेनी नगरपालिका–९ की ३९ वर्षीया विष्णुमाया केसी, काठमाडौँ महानगरपालिका–१५ का ५६ वर्षीय बालकृष्ण महर्जन र भक्तपुर नगरपालिका–७ का ५२ वर्षीय राजेन्द्र तुईतुईलाई काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी नायब महानिरीक्षक कार्कीले जानकारी दिनुभयो ।
केसीले पीडितलाई खातामा पर्याप्त रकम मौज्दात नभएको रु १ करोड ५० लाखको चेक दिई फरार भएकी प्रहरीले जनाएको छ ।
महर्जन बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले अघिल्लो जेठ २९ गते ५ दिन कैद, बिगो रु १६ लाख र रु ६४ हजार क्षतिपूर्तिबापत पीडित राहतकोषमा जम्मा गराउने ठहर गरेकामा उनी फरार भएका थिए ।
जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउपुर्जी जारी भई फरार रहेका तुईतुईलाई प्रहरीले भक्तपुर नगरपालिका–७ बाट पक्राउ गरेको हो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

